माथिल्लो तामाकोशी जलविद्युत आयोजना अप्पर तामाकोसीको सुरुङ परीक्षण सफल, आगामी हप्ता ७६ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिने
माथिल्लो तामाकोशी जलविद्युत आयोजना अप्पर तामाकोसीको सुरुङ परीक्षण सफल, आगामी हप्ता ७६ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिने
यसरी पानी भर्दा विभिन्न नौ वटा चरणहरुमा इन्टेकबाट थोरैथोरै मात्रामा पानी पठाउने र अनुगमनका लागि हरेक चरणमा १२ देखि ४८ घण्टासम्म रोक्दै सुरक्षामा विशेष सतर्कता अपनाउँदै सुक्ष्म रुपमा संरचनाहरु र उपकरणहरुको परीक्षण गरिएको तामाकोशी आयोजनाको प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो ।
पुरै सुरुङमा अन्तिम पटक आइतबार विहानसम्म ४८ घण्टा पानी राखेर परीक्षण गर्दा पानी नचुहिएपछि सुरुङ परीक्षण सफल भएको उहाँले बताउनुभयो ।त्यस पश्चात पहिलो युनिटको साेक टेष्ट गरि २४ घण्टा सम्मका लागि अवलोकन तथा अनुगन भइरहेको छ ।
त्यसैगरी, उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गर्नका लागि रामेछापको फुलासिस्थित २२०/१३२ केभिको सवस्टेशनमा जोड्न चार वटा मल्टीसर्कीट टावरहरुमा तार टाग्ने कार्य भइरहेको छ । सो कार्यका लागि आइतबार विहानबाट नेपाल विद्युत प्राधिकरणले खिम्ति लामोसाँगु १३२ केभिको प्रसारण लाईन सर्टडाउन गरेर काम गरिरहेको छ । मल्टिसर्कीट टावरहरुमा तार टाग्ने काम करिब तीन दिनमा सकिने र आवश्यक परीक्षणहरु गरेपछि आगामी हप्ताको सुरुदेखि पहिलो युनिटबाट उत्पादित ७६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाईनमार्फत वितरण हुने प्रवक्ता डा, न्यौपानेले बताउनुभयो ।
आयोजनामा ७६–७६ मेगावाटका छ वटा युनिटहरू जडान गरिएको छ । पहिलो युनिटबाट विद्युत उत्पादन भएको एक हप्तापछि दोस्रो युनिट सञ्चालनमा आउने र आगामी भदौ भित्र सबै युनिटबाट विद्युत उत्पादन हुने उहाँले बताउनुभयो ।